वैतश्वर गाउँपालिकाका शिक्षक संघ तथा संगठनहरुले शिक्षा क्षेत्रको हालको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै संयुक्त रुपमा जनप्रतिनिधि, अभिभावक र विद्यार्थीहरुलाई समर्थन गर्न आग्रह गरेका छन् ।
आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठन वैतेश्वरका प्रतिनिधिहरुले हाल जारी आन्दोलनप्रति गम्भीर भएर साथ दिन सबै पक्षलाई आह्वान गरेका हुन् ।
यसअघि, वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले शैक्षिक सत्र २०८२ को सुरुवातसँगै सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण तथा कक्षा सञ्चालन गर्नुपर्नेमा त्यस्तो कार्य नदेखिएको भन्दै विज्ञप्ति जारी गरेका थिए । साथै, गाउँपालिकाले सम्पूर्ण विद्यालयहरुलाई वैशाख ९ गतेदेखि शैक्षिक तथा प्रशासनिक गतिविधि सुरु गर्न निर्देशन दिएको थियो ।
तर, शिक्षक संगठनहरुले उक्त निर्देशनप्रति आपत्ति जनाउँदै हालको परिस्थिति विद्यालय सञ्चालनका लागि उपयुक्त नरहेको स्पष्ट पारेका छन् । विज्ञप्तिमा भनिएको छ, “विद्यालय सञ्चालन गर्ने बाध्यात्मक अवस्था सिर्जना नगरी आन्दोलनमा ऐक्यवद्धता जनाउने वातावरण बनाउनु आवश्यक छ ।”
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष सुरेन्द्र पोखरेल, नेपाल शिक्षक संघका अध्यक्ष भाइराम बुढाथोकी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष अष्ट कुमार लामाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा सम्पूर्ण शिक्षकलाई काठमाडौं केन्द्रित शैक्षिक आन्दोलनमा सहभागी हुन आह्वान गरिएको छ । साथै, यो वा त्यो बहानामा व्यक्तिगत काम, घुमफिर, पिकनिक वा भोजभतेरमा समय नखर्चिन सुझाव दिइएको छ ।