मेलुङ गाउँपालिका–२ डाँडागाउँका स्थानीयबासी अझै पनि पुर्खौली धाराको पानीमै निर्भर छन् । सफा, शुद्ध र चिसो भएकाले घर आँगनमै कलधारा भए पनि उनीहरू ढुंङ्गेधारा (पुर्खौली) धाराकै पानी पिउने गर्छन् ।

डाँडागाउँमा रहेको ठूलोधारा (पुर्खौली धारा) पुर्खादेखि नै स्थानीयको जीवनसँग जोडिएको छ । पुर्खादेखिनै यही धाराको पानी प्रयोग गर्दै आएकाले यस ठाउँको नाम नै पुर्खौली धारा रहन पुगेको हो । यस वडाको महिला वडासदस्य रुपा खड्काका अनुसार, गाउँमा कल धारा जडान भए पनि पानी नियमित नआउने र शुद्ध नभएकाले ढुंङ्गेधाराको पानीप्रति स्थानीयको भरोसा र विश्वास बढेको बताउनु भयो ।

डाँडागाउँका ५० भन्दा बढी घरधुरीले दैनिक रुपमा पुर्खौली धाराको पानी प्रयोग गर्छन् । टाढा–टाढाबाट समेत मानिसहरू यहाँ पानी भर्न आउँछन् । हिउँदमा समेत मुहान नसुकेको कारण गाईवस्तुलाई खुवाउन, घरायसी कामकाजका लागि तथा सिँचाइमा समेत यसको प्रयोग हुँदै आएको छ । स्थानीय मैया कार्की भन्नुहुन्छ, “पहिला गाउँमा पानीको अभाव हुँदा पनि यही धाराको पानीले साथ दियो । अहिले घरआँगनमै कलधारा जोडिए पनि हामी अझै यही धाराको पानी पिउछौँ ।“
लोकदेवी खड्काको अनुभवमा पनि उही कुरा दोहोरिन्छ । उनी भन्छिन्, “कलधाराको पानी कहिले आउँछ, कहिले आउँदैन । तर पुर्खौली धाराको पानी सधैं भरपर्दो छ । त्यसैले धेरैजसो स्थानीय यही पानी पिउन्छन् ।“ पुर्खौली धाराको पानी अन्य कल धाराको तुलनामा स्वच्छ, स्वादिलो र चिसो महसुस हुने स्थानीयको धारणा छ । घरबाट २०–२५ मिनेट हिँडेर भए पनि यहाँको पानी प्रयोग गर्न आउनेहरूको संख्या दर्जनौं छ ।
विकासले गाउँमा आधुनिक धारा त भित्र्यायो, तर विश्वास भने अझै पुर्खौली धारामै छ । यही पानीले पुस्तौँदेखि स्थानीयलाई जीवन दिइरहेको छ, र भविष्यमा पनि यसको अस्तित्व जोगाइराख्न स्थानीय सचेत देखिन्छन् ।