दोलखामा २१.३२ हेक्टर वन अतिक्रमणमा परेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ । जिल्लाको विभिन्न क्षेत्रमा वन अतिक्रमण गरेको हो । वन अतिक्रमण सबै भन्दा बढि कालिञ्चोक सव डिभिजन वन कार्यालयको क्षेत्र भित्र रहेको छ । उक्त क्षेत्रमा ९.४५ हेक्टर क्षेत्रफल वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालय दोलखाका निमीत्त डिभिजनल वन अधिकृत चन्द्र बहादुर थापाले जानकारी दिनुभयो । कालिञ्चोकको कुरी बजार, सुनखानीको सोति, स्याउली लगाएतको वन क्षेत्र अतिक्रमण गरि घर टहरा निर्माण गरिएका छन् ।
त्यसैगरि शैलुङ सव डिभिजन वन कार्यालय क्षेत्रमा ३.५ हेक्टर वन अतिक्रमणमा परेको छ । उक्त क्षेत्रका काटाकुटी मागापौवा लगाएतका क्षेत्रमा वन अतिक्रमण गरि संरचना निर्माण गरिएका छन् । भीमेश्वर सव डिभिजन वन कार्यालय अन्र्तगत ३ हेक्टर वन क्षेत्र अतिक्रमण्मा परेको छ । उक्त क्षेत्रका देउराली, तामाकोशी बजार लगाएतका स्थानमा घर टहरा निर्माण गरिएको छ ।
मेलुङ सव डिभिजन वन कार्यालय अन्र्तगत पवटि लगाएतका क्षेत्रमा गरि २.६७ हेक्टर र हनुमन्ते सव डिभिजन वन कार्यालय अन्र्तगत १.२ हेक्टर वन अतिक्रमण गरिएको छ । उक्त क्षेत्र अन्र्तगत जिरी र वैत्यश्वरका केहि क्षेत्रमा वन अतिक्रमण गरि संरचना निर्माण गरिएका छन् । वन क्षेत्र अतिक्रमण गरि सर्वसाधारणले पक्कि संरचना निर्माण गर्न थाले पनि अतिक्रमीत संरचना निर्माण नगर्न तथा निर्माण गरिएका संरचना हटाइएको छैन ।
यस अघि दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको कार्यकालमा दोलखाको विभिन्न अतिक्रमीत क्षेत्रमा बनेका संरचना हटाउने निर्णय कात्तिक २८ गते भएको थियो । उक्त समयमा सडक सिमा भित्र बनाइएका तथा सार्वजनिक जग्गा, वन क्षेत्र र अन्य किसीमका सरकारी जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा लगाएतका संरचना हटाउने निर्णय गरेको थियो ।
जिरी क्षेत्र, कालिन्चोक गाउँपालिकाको कुरी क्षेत्र, भीमेश्वर नगरपालिकाको देउराली क्षेत्र, विगु गाउँपालिकाको सोरुङखोला क्षेत्र, कालिन्चोक गाउँपालिकाको सोती बजार, स्याउली बजार क्षेत्र, गौरिशंकर गाउँपालिकाको गुरुम्फि क्षेत्र र शैलुङ गाउँपालिकाको भैसे बजार क्षेत्रमा बनेका अनाधिकृत घर टहरा लगाएतका संरचना हटाउने निर्णय गरेको थियो ।
तर प्रमुख जिल्ला अधिकारी रिजाल घुस काण्डमा मुछिए सँगै अतिक्रमीत क्षेत्रमा बनेका संरचना हटाउने विषय विलिन भएको छ । भने वन, सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ ।