नामजस्तै सानो पोखरी छ पोखरेडाँडामा । सडकबाट अलिकति ओरोलो झर्नुपर्छ पोखरी पुग्न । पोखरी कहाँ पर्छ भनेर सोध्दा सबैले बाटो देखाईदिन्छन् । बर्खायाममा मात्र होइन हिउँदमा पनि सुन्दर देखिन्छ पोखरेडाँडाको पोखरी ।
शैलुङ गाउँपालिका मागापौवामा पर्दछ पोखरीडाँडा । वरिपरी खेतको गह्रा । नजिकै तामाङ वस्ती । ६ वटा थुम्कासहित पोखरी पर्यटकको पर्खाइमा । यहाँ पुग्दा पोखरी मात्र होइन वरिपरीको वातावरण नियाल्दा रातदिन यही बसौ बसौ लाग्छ जोकोहीलाई । यहाँबाट चरिकोट नजिकै देखिन्छ । वरिपरी खेतमा कोही मल बोक्ने, कोही गोरु जोत्ने, कोही मेलापात लागेका लस्करनै देखिन्छ ।
दिउँसो मात्र होइन साँझपख यहाँबाट चरिकोट चिटिक्क देखिन्छ । अझ चन्द्रमा उदाउदै गरेको मनमोहक दृश्यले धेरैको मन तान्छ । सदरमुकाम नजिकै रहेको यस पोखरीको प्रचार प्रसार नहुँदा धेरैले देख्न पाएका छैनन् । लकडाउनको अवधिमा नयाँ नयाँ गन्तव्य पहिचान भए तापनि व्यक्तिको जग्गामा रहेको हुनाले खासै प्रचारमा नल्याएको नेत्र मोक्तान बताउनुहुन्छ । धार्मिक महत्व बोकेको यस पोखरी सानो क्षेत्रफलमा फैलिएको छ । नजिकै उम्रेको पानी यस पोखरीमा जम्मा हुन्छ । नजिकै बस्ती बस्नुभन्दा पहिलादेखिनै पोखरी रहेको थियो ।






प्रकाशित मिति:
आइतबार, मंसिर २१, २०७७, १३:४४:००