चरिकोट ४ चैत्र
जिल्लालाई राजधानी संग जोड्ने दोलखाका लाईफलाईनु मुडे - चरिकोट सडक ५ बर्ष देखि अलपत्र पार्ने शंकर माली निर्माण सेवालाई नागरिक समाज दोलखाले बुधबार चरिकोट बजारमा एक रुपैयाँका दरले सहयोग उठाएर ७ सय ४ रुपैयाँ रकम सहयोग पठाएका छन् ।
५ बर्ष देखि अलपत्र यो सडकमा कार्यरत ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका सञ्चालक दिपक सापकोटा फेरि बेपत्ता भएपछि बुधबार सडक ढिलाइ बिरुद्धको संघर्ष समिति सहित नागरिक समाजका अगुवाहरुले एक रुपैयाँका दरले आर्थिक संकलन कार्य गरेका थिए ।

चरिकोट बजारबासीबाट संकलित रकम समितिले बुधबार नै आयोजना प्रमुख दीप बाराहीलाई बुझाएको संघर्ष समितिका संयोजक तथा नागरिक अगुवा चिरञ्जीवी मास्केले जानकारी दिनु भयो । एक अर्बको ठेक्का लिएर काम नगर्ने शंकर माली निर्माण सेवालाई दबाब स्वरुप नागरिकबाट एक रुपैयाँका दरले रकम उठाएर पठाईएको मास्केले जानकारी दिनु भयो ।
चेक बाउन्सको मुद्दामा परेका सापकोटा एक साता देखि सम्पर्क बिहिन छन् । प्रहरीको खोजी सुचीमा रहेका उनलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालयले टोली परिचालन गरेको छ । उनी बेपत्ता भएपछि सोही निर्माण सेवाका अन्य सञ्चालकलाई झिकाएको सडक सुधार आयोजनाले अन्य सञ्चालक मार्फत पनि काम गराउने वातावरण नरहेको जनाएको छ ।
आयोजना प्रमुख दीप बाराहीका अनुसार यो कम्पनील् जिम्मा लिएको साईटमा सम्पुर्ण काम रोकिएको छ । ठेकेदार फरार बनेपछि उक्त कम्पनीलाई कार्बाही गरेर नयाँ ठेकेदार नियुक्त गर्न दबाब बढेको छ ।
संघर्ष समितिले तत्काल ठेकेदारलाई कार्बाही प्रक्रिया अगाडि बढाउन आगमी आइतबार सम्मको अल्टिमेटम दिएको छ । कार्बाही प्रक्रिया अगाडी नबढे थप कडा ढंगका कार्यक्रम सञ्चालन गरिने संघर्ष समितिका सह संयोजक रमेश खतीवडाले जानकारी दिनु भयो ।
प्रकाशित मिति:
बुधबार, चैत ४, २०७७, १२:४६:००