चरिकोट, २६ भदौ
स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको चाहना अनुसार काम गरेनन् भनेर त हामीले सुन्दै आएका छौं तर दोलखामै यस्ता जनप्रतिनिधि पनि छन् जो आफुले पाउदै आएको तलव भत्ता समेत नागरिकका हितमा खर्च गर्दै आएका छन् । यिनै मध्यका एक जनप्रतिनिधि हुन् गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्वुका वडा अध्यक्ष रिन्जी (आङदोर्जे) शेर्पा ।
शेर्पाले आफु जनताको सेवा गर्नकै लागि निर्वाचित भएकोले नागरिकको हितमा आफुले काम गर्दै आएको बताउँनु हुन्छ । वडा अध्यक्ष शेर्पाले आफूले पाउने तलब र भत्ताबाट सुरुमा दुई सय ४३ घर परिवारको बिजुली महसुल तिरी दिदै आउनु भएको थियो । भूकम्प पछि हाल घरधुरी संख्या बढेर चार सय ४० पुगेको भए पनि अध्यक्ष शेर्पाले सबै घर परिवारले बिजुली बाले वापतको महसुल तिरी दिने गर्नु भएको छ ।
यो सँगै वडा अध्यक्ष शेर्पाले आफ्नो वडाको विकासका लागि समेत आवश्यकताको आधारमा कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । शेर्पाकै पहलमा वडामा खानेपानी समस्या समाधानका लागि एक घर एक धारा अभियान सञ्चालन भई हाल अधिकांशको घरमा धारा जडान कार्य भएको सम्पन्न भई सकेको छ । वडावासीलाई सेवा प्रवाहका वडाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएको छ भने वडाबाट उच्च शिक्षा अध्ययन गर्नेहरुको लागि वडाले छात्रवृत्तीको व्यवस्था गर्दै आएको शेर्पा बताउनु हुन्छ ।
सडक निर्माण कार्यलाई विशेष जोड दिएकाले अहिल आफ्नो वडा लाई सडक सञ्जालमा जोडी यातायात सुविधा सम्पन्न बनाउन शेर्पा सफल हुनु भएको छ । पर्यटकीय हिसाबले मार्वु महत्वपुर्ण क्षेत्र मानिन्छ । वडा अध्यक्ष शेर्पाकै पहलमा पर्यटकको लागि पदमार्ग निर्माण भएको छ । पर्यटन विकासका लागि अहिले मार्वुदेखि च्छोकुम सम्मको यात्रा गर्न पदमार्ग निर्माण भएको छ । गौरीशंकर संरक्षण क्षेत्र अन्र्तगत पर्ने मावु रेडपाण्ड जोन भएकाले छिट्टै रेडपाण्ड पार्क निर्माण गर्ने वडाको योजना रहेको शेर्पाले बताउनु भयो । पर्यटकलाई आकर्षित गर्न थप पदमार्गहरु निर्माण गर्ने वडाको योजना रहेको शेर्पाले ई दैनिक खबरलाई बताउनु भयो ।
प्रकाशित मिति:
शनिबार, भदौ २६, २०७८, १०:२४:००