चरिकोट, ०९ माघ
व्यवसायिक उद्यमशिलता विकास सम्बन्धि ३ दिने तालिम कालिञ्चोक गाउँपालिकाम आइतबार सम्पन्न भएको छ । कोभिड १९ का कारण रोजगारी गुमाएका विपन्न समुदायलाई लक्षित गर्दै आयोजना गरिएको तालिममा १४ जनाको सहभागिता रहेको थियो ।
अस्टेलियन एडको आर्थिक सहयोगमा लुथरन वल्र्ड फेडेरेसनसँगको साझेदारीमा मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले सञ्चालन गर्दै आएको कोभिड १९ प्रभावित समुदायको लागि आर्थिक पुर्नउत्थान परियोजनाले तालिमको आयोजना गरेको हो । कालिञ्चोक गाउँपालिकासँगको समन्वयमा छनोट भएका कोभिड १९ प्रभावित विपन्न समुदायलाई उद्यम विकास तालिम पश्चात लघु तथा घरेलु उद्यम सञ्चालनका लागि सहयोग गरी आर्थिक पुर्नउत्थानमा सहयोग गर्ने हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धव पोखरेलले जानकारी दिन भयो ।
तालिमको सहजिकरण कालिञ्चोक गाउँपालिका उद्यम विकास शाखाका प्रमुख वासु सेढाईले गर्नु भएको थियो । तालिममा लघु तथा घरेलु व्यवसायको सामान्य अवधारणा, बजारीकरण र योजना निर्माण र कार्यन्वयनका बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले कृषि उद्यम मार्फत आय आर्जनको सम्भावना रहेकोले तालिमले गाउँपालिकामा लघु उद्यमीको संख्या बढ्ने बताउनु भएको थियो ।
यस अघि कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ३ र ४ लाक्षित गर्दै लामीडाँडाको पोखरेमा व्यवसायिक उद्यमशिलता विकास तालिम सम्पन्न भई सकेको छ । सो तालिममा २६ जनाको सहभागीता रहेको थियो । दुबै तामिलमा गरी ४० जना सहभागी भएको र उनीहरुलाई लघु उद्यम सुरु गर्नका लागि परियोजना मार्फत आर्थिक सहयता उपलब्ध गराईने परियोजनाले जनाएको छ ।
प्रकाशित मिति:
सोमबार, माघ १०, २०७८, १४:२०:००