चरिकोट, १४ बैशाख
प्राकृतिक स्रोत व्यवस्थापन सम्वन्धि क्षमता विकास कार्यशाला दोलखा सदरमुकाम चरिकोटमा बुधबार सम्पन्न भएको छ । हुराडेक नेपाल दोलखाले लुथरन वल्र्ड फेडेरेसनसँगको साझेदारीमा सञ्चालन गर्दै आएको सामुदायिक सशक्तिकरण र विकासका लागि स्थानीय पहल परियोजनाले आयोजना गरेको कार्यशालामा २७ जनाको सहभागिता रहेको थियो ।
क्षमता विकास कार्यशालामा परियोजना सञ्चालनमा रहेको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३, ४ र ८ का स्थानीय आमा समुह, सामुदायिक वन उपभोक्ता समुह, सहकारी लगात अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको हुराडेक नेपाल दोलखाका परियोजना संयोजक शेरबहादुर भुजेलले जानकारी दिनु भयो ।
कार्यशालामा जल, जंगल र जमिनको महत्व, संरक्षणका उपाय, दिगो भू व्यवस्थापन, वनमा आधारित उद्यम विकासमा समुदायको भूमिका, वन मार्फत रोजगारी सिर्जना गर्ने उपाय, कृषि वनको फाइदा, घर वगैचा मार्फत आम्दानी गर्ने तरिका आदिका बारेमा छलफल भएको थियो । कार्यक्रमको सहजीकरण वन अधिकारकर्मी तथा उद्यमी भोला खतीवडाले गर्नु भएको थियो ।
प्रकाशित मिति:
बुधबार, वैशाख १४, २०७९, १६:३२:००