चरिकोट, २६ बैशाख
नेकपा एमाले भीमेश्वर नगर कमिटीले चरिकोटमा चुनावी सभा गरेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमाले भीमेश्वर नगर कमिटीले शक्ति प्रद्धर्शन गरेको हो । एमालेले शक्ति प्रदर्शनको रुपमा अघि सारिएको यस सभाले भीमेश्वर नगरपालिकाको ९ वटै वडा र मेयर, उपमेयरको सिट सुरक्षित रहेको दावी गरेको छ ।
सदरमुकाम चरिकोट सातदोबाटोमा भएको सभामा नेकपा एमालेका पोलिटव्यूरो सदस्य आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ र केन्द्रीय सदस्य रचना खड्काले भीमेश्वर नगरपालिका बैशाख ३० गतेको निर्वाचनले नेकपा एमालेकै जित सुनिश्चित भएको दाबी गर्नुभयो । पाँच वर्षको अवधिमा भीमेश्वर नगरपालिकाको समृद्धिमा उल्लेखनीय कार्य गरेकाले जनताले त्यसको गुण फिर्ताउने बताउनुभयो ।
भीमेश्वर नगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती कमिटीका सदस्य भरत बहादुर केसी, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, मेयरका उम्मेदवार हरिवंश चौलागाई, उपमेयरका उम्मेदवार कमला बस्नेत र सचिव भोला खतिवडाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति:
सोमबार, वैशाख २६, २०७९, १९:०१:००