चरिकोट, २४ जेठ
नेपाल सरकारले राष्ट्रिय परिचयपत्र सबै नेपालीलाई अनिवार्य गरेको छ । १६ वर्ष उमेर पुगेर नेपाली नागरिकता बनाएका सबै नागरिकले राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने छ । दोलखामा आगामी असार १ गतेदेखि सबै वडातहमा समेत राष्ट्रिय परिचयपत्रका लागि बनाउन आवश्यक वातावरण निर्माण गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक ललितकुमार बस्नेतले बताउनु भयो ।
राष्ट्रिय परिचय पत्रमै शिक्षा, स्वास्थ्य, सम्पत्ति कारोवार, सवारी चालक लगायतका सबै विवरण उल्लेख गरिने भएकाले सबैले अनिवार्य रुपमा यो कार्ड लिन आवश्यक रहेको छ । यस कार्डमा व्यक्तिको वैयक्तिक र जैविक दुवै विवरण उल्लेख गरिएको र एकीकृत कार्डको रुपमा भएकाले पनि यो कार्ड महत्वपूर्ण रहेको निर्देशक बस्नेतले बताउनुभयो ।
परिचयन पत्रका लागि दोलखाको ९ पालिका र ७४ वटै वडाबाट विवरण संकलन गरिने छ । ३ महिनाभित्र अर्थात दशै अघिनै परिचयपत्र विवरण संकलन गरिसक्ने विभागको तयारी रहेको छ । राष्ट्रिय परिचयपत्र बनाउनको लागि सक्कली नागरिकताको आवश्यकता पर्दछ । हाल राहदानी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय दोलखाबाट राष्ट्रिय परिचयपत्र बनाईरहेको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनु भयो ।
प्रकाशित मिति:
मंगलबार, जेठ २४, २०७९, १२:३५:००