चरिकोट , २५ जेठ
चरिकोटमा बिच बजारमा रहेको ड्रिम्स क्याफेले आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोगका लागि आजदेखि खुल्ला गरेको छ । चरिकोट बजारमै सार्वजनिक शौचालय छैन । बजारबाट केही तल गएपछि मात्र सार्वजनिक शौचालय प्रयोग गर्न पाईन्छ । तर अधिकांश यात्रुहरु नजिकै शौचालय प्रयोग गर्न चाहने भएकाले यात्रु तथा पैदालमार्गीहरुलाई ध्यान दिदै सार्वजनिक शौचालयको रुपमा घोषण गरिएको क्याफे सञ्चालक तथा जिल्ला युवा समितिका अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनु भयो ।
चरिकोटमा सार्वजनिक शौचालय निर्माणको माग गर्दै आएपनि पूरा हुनसकेको छैन । योजना अघि बढेसँगै दोलखाको चरिकोटमा पनि यसको प्रयोग पहिलो पटक ड्रिम्स क्याफेले सुरु गरिएको हो ।
आफ्नो क्याफेका शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न पाउँदा जोकोहीलाई पनि सहज हुने व्यवसायी श्रेष्ठले बताउछन् । अब सामान किन्न आउने तथा चरिकोट बजार घुम्न आउनेले आफ्नो क्याफेमा रहेको शौचालय प्रयोग गर्न पाउने उनले बताए ।
यात्रु तथा आगन्तुकहरुको समस्यालाई ध्यानमा राखी आफूले अभियानकै रुपमा शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न पाउने बताउनुभयो । उनले भने, ‘यति ठूलो बजार क्षेत्रमा एउटा पनि सार्वजनिक शोचालय नहुँदा जिल्लाबासीकै बेइज्जत हुने भएकाले आफ्नै क्याफेको शौचालयलाई सार्वजनिक शौचालय बनाएको हुँ ।’ उनले आज प्रदेश युवा परिषद बागमतीको प्रथम स्थापना दिवसको अवसरमा सदरमुकाम चरिकोटको सातदोबाटोदेखि नयाँ बसपार्कसम्मको क्षेत्रमा सरसफाई गरेका छन् । श्रेष्ठ लामो समयदेखि सामाजिक अभियानमा सक्रिय छन् ।
प्रकाशित मिति:
बुधबार, जेठ २५, २०७९, १२:१२:००