पछिल्लो एक अध्ययनका अनुसार मानिसको कम्मर भन्दा मुनिको भागमा हुने २६ अंगहरु मध्य सबैभन्दा बढि गुँडामा समस्या हुने गरेको तथ्य फेला परेको छ । साउथ एम्टोन विश्वविद्यालय युकेले कृपा सँगको सहकार्यमा नेपालका दोलखा सहित ३ वटा जिल्लामा गरेको अध्ययनले सो तथ्य फेला परेको हो । आज दोलखा सदरमुकाम चरिकोटमा शरीरको तल्लो अंगको अवस्था, स्केल, उपचार र प्रभावबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कृपाले कम्मरभन्दा मुनिको भागमा हुने समस्या अथवा दुखाई पुरुषको तुलनामा महिलाहरुमा बढि देखिएको जनाएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ र मेलुङ गाउँपालिका वडा नम्बर २ मा १८ वर्ष भन्दा माथिका पाँच सय जना महिला र पुरुषमा गरेको अध्ययन अनुसार एक सय जनामा कम्मर भन्दा मुनिको भागमा हुने २६ अंगहरु मध्य सबैभन्दा बढि गुँडाको समस्या देखिएको अनुसन्धानमा संलग्न कृपाका डाक्टर महेष पुरीले जानकारी दिनु भयो ।
प्रतिवेदन अनुसार शरीरको जोर्नी र घुँडा दुख्ने कारणमध्ये घुँडाको हड्डी खिइनु मुख्य कारण हो भने दुर्घटना, चोटपटक, जन्माजात, नसा सम्बन्धि रोग लगायतका कारणले घुँडा र जोर्नीको समस्या देखिएको डाक्टर पुरीले जानकारी दिनुभयो । कार्यक्रममा पशुपति चौलगाई स्मृति अस्पताल चरिकोटका बाल रोग विशेषज्ञ डाक्टर सञ्जय उलकले कम्मर भन्दा मुनिको अंगहरुकको अवस्था र समस्या पत्ता लाग पनि जिल्लामा सम्बन्धित रोग विशेषज्ञ नहुँदा उपचारमा समस्या हुने गरेको बताउनु भयो ।
भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले अहिले वडाहरुमा योजना तर्जुमाको काम भईरहेको र सबै वडाहरुले स्वास्थ्यलाई भन्दा पनि भौतिक पुर्वधार विकासको योजनालाई प्राथमिकता दिइएको पाइएको भन्दै नगरपालिकाले भौतिक पुर्वधारको विकास संगसंगै सबैभन्दा पहिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिईने बताउनु भयो ।
कार्यक्रममा मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आर्चायले मेलुङमा पनि अनुसन्धान भएको र देखिएको समस्या समाधानका लागि गाउँपालिकाले प्रयास गर्ने बताउँनु भयो ।
साउथ एम्टोन विश्वविद्यालय युकेले कृपा सँगको सहकार्यमा दोलखा सहित लमजुङ र दाङमा शरीरको तल्लो भागको अंगको समस्याबारे गत बर्ष अध्ययन गरेको थियो । कार्यक्रममा साउथ एम्टोन विश्वविद्यालय अनुसन्धान कार्यमा संलग्न प्राध्यापक अमोश चन र लुसी गेटेसले अध्ययनका क्रममा देखिएका विविध तथ्यहरुको बारेमा जानकारी दिनु भएको थियो ।
मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाको आयोजनामा भएको कार्यक्रममा हुराडेक नेपाल दोलखाको अध्यक्ष उद्धव प्रसाद पोखरेल, पुर्व अध्यक्ष होम पाठक जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के लगायले अध्ययन प्रतिवेदन बारे टिप्पणी गर्नु भएको थियो ।