जिल्ला प्रशासन कार्यालय दोलखाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी दोलखा जिल्ला भरि आज रातिदेखि मदिरा बिक्री वितरणमा प्रतिवन्ध लगाइएको छ ।
आज सूचना जारी गर्दै जिल्लाभर मंसिर ६ गतेसम्म मदिरा बिक्री वितरण तथा ओसारपसारमा पूर्ण रोक लगाइएको जानकारी गराएको हो । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सूचना जारी गरिएको बताउनु भयो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ को खण्ड क बमोजिम मंसिर ६ गतेसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन गर्न निषेधित गरिएको सूचनामा उल्लेख छ । साथै होटल व्यवसाय बेलुका ८ बजेसम्म सञ्चालन गर्न आग्रह गरेको छ । सो अवधिमा कोहि कसैबाट उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने समेत जिल्ला प्रशासन दोलखाले जनाएको छ ।
प्रकाशित मिति:
आइतबार, कात्तिक २७, २०७९, १६:५५:००