मंसिर ४ गते हुन गईगइरहेको निर्वाचनमा निर्वाचन कार्यालयले कार्यक्षेत्र र जिम्मेवारीमा शिक्षकको मर्यादाक्रमको वेवास्ता गर्दै निर्वाचनमा खटाएको भन्दै शिक्षकहरुले विरोध जनाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय दोलखाले शनिबार साँझ कर्मचारीको कार्यक्षेत्र र जिम्मेवारी सार्वजनिक गरेकोमा आईतबार शिक्षकहरुले ध्यानाकर्षण पत्रसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा निवेदन दिएका हुन् । शिक्षकहरु दाताराम नेपाल, महेश खाती, इन्द्रकुमार बस्नेत, केशव प्रसाद सेढाँई, नवराज शिवाकोटी, यज्ञप्रसाद शिवाकोटी र निरज आचार्यले निर्वाचनमा मर्यादाक्रम अनुसार खटाई पाउँ भनेर निवदेन दिएका हुन् ।
त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाका अध्यक्ष सञ्जय कुमार खड्काले राज्यले शिक्षकलाई अपमान व्यवहार गर्दै आएको बताउनुभयो । अध्यक्ष खड्काले शिक्षकको हकहितका लागि संगठन जतिसुकै बेला तयार रहेको उल्लेख गर्नुभयो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन दोलखाका अध्यक्ष राम बहादुर खड्काले निर्वाचन आयोगले मर्यादाक्रम थाहा नपाउनु लज्जाको विषय भएको भन्दै गैरजिम्मेवार संस्कृतिको भत्सर्ना गर्नुभएको छ । समयमा नै मर्यादाक्रम सच्याएर शिक्षकलाई सहज वातावरण बनाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।
त्यसैगरी नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्द मानन्धरले शिक्षक महासंघ केन्द्रिय तहबाट नै शिक्षकको मर्याक्रमको बारेमा सचेत गराउँदा गराउँदै निर्वाचन आयोगले शिक्षकमाथि अपमान गरेको गुनासो गर्नुभयो ।
शिक्षकहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता शिव पोखरेलले शिक्षकहरुको निवेदन परेको र यस विषयमा के गर्ने भन्ने टुङ्गो नलागेको बताउनुभएको छ ।
प्रकाशित मिति:
सोमबार, कात्तिक २८, २०७९, ०७:५१:००