दोलखाको प्रदेश सभा ख मा नेकपा एमालेका भरत बहादुर केसी निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसीले १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वर्मा लामाले १७ हजार ५९५ मत पाए ।
प्रदेश सभामा नवनिर्वाचित भरत केसी भीमेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । स्थानीय तहको निर्वाचन २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार इश्वर नारायण मानन्धरलाई पराजित गरेका थिए । उनले भीमेश्वर नगरपालिकामा खेलकुद, शिक्षा, स्वास्थ्य, सडक, पर्यटनको क्षेत्रमा उल्लेखीय कार्य गरेको नगरबासीको भनाई छ ।
नेपाली कांग्रेस दोलखाका सभापति समेत रहेका वर्मा लामाले मतगणना सकिनु अघि नै हार स्वीकार गदै केसीलाई बधाई दिएका थिए । ’लामाले कांग्रेसकै कारण आफूले चुनाव हारेको समेत बताए । उनले फेसबुकमा लेखेका छन्, ‘सूर्यमुखी कांग्रेसहरु जसले जित्दा (जित्दैको निर्वाचन हराउन सफल हुनु भयो त्यस्ता नेता तथा कार्यकर्ता र पत्रकारहरुलाई समेत बधाई एवम् शुभयात्रा भन्न चाहन्छु ।’
वर्मा लामाको प्रदेश सभामा यो दोस्रो हार हो । यसअघि २०७४ सालको चुनावमा उनी नेकपा माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए ।
प्रकाशित मिति:
आइतबार, मंसिर १८, २०७९, १६:४८:००