स्थानीयले फोहोर फाल्न नदिएपछि भीमेश्वर नगरपालिकाले उठाएको फोहोर कार्यालय परिसरमै थन्किएको छ । बजारबाट उठाएको फोहोर खोरथली वनभित्र फाल्न लाँदा स्थानीयले अवरोध गरेपछि पालिकाको प्राङ्गणमै ल्याएर थन्काएको हो ।
चुनाव लागेपछि नगरपालिकाले फोहोर उठाउन सकेका छैनन् । कहिलेकाही उठाएको फोहोर पनि फोहोरकै गाडीमा त्रिपालले छोपेर राखिएको छ । हप्तौसम्म फोहोर फाल्नको लागि स्थानीयसँग पटक पटक वार्ता, छलफल गर्दा पनि उचित समाधानको उपाय निकाल्न सकेको छैन । गत आईतबार बसेको सर्वपक्षीय बैठकले पनि ठोस निर्णय गर्न सकेन ।
सदरमुकाम चरिकोट बजारमा असोजमा राखिएको कुहिने र नकुहिने फोहोरको डस्विन भरेर हेरिसक्नु छैन् । अहिले सातदोबाटो चोक नै गन्हाउने गरि फोहोर थुप्रिएको छ । यसअघि तत्कालको समस्या टार्नको लागि सार्वजनिक जग्गामा फोहोर गाड्दै आएको थियो । अहिले ती ठाउँहरु पनि भरिएको हुँदा फोहोर व्यवस्थापन हुन नसकेको भीमेश्वर नगरपालिकाका इञ्जिनियर नारायण शिवाकोटीले बताउनु भयो । बजारको फोहोर उठाउन छोडेपछि फोहोरमा जनप्रतिनिधिहरुको तस्बिर राखेर जनताले सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् ।
प्रकाशित मिति:
बुधबार, मंसिर २१, २०७९, ०८:२८:००