उद्योग वाणिज्य संघको अधिवेशन २०८० साल बैशाख १५ गते हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको माघ ५ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
२०७९ साल बैशाख मसान्त भित्रमा हुनु पर्ने २३ औं अधिवेशन स्थानीय तहको निर्वाचनको कारण हुन सकेको थिएन । त्यसलगतै चाडपर्व र मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको कारण समयमा अधिवेशन गर्न नसकेको कार्यवाहक महासचिव विमल श्रेष्ठले जानकारी दिनु भयो । साथै समयमै अधिवेशन गर्नको लागि सिंगटी र मागादेउराली शाखाको साधारण सभा र फागुनमा बागमती प्रदेशको साधारण सभाको कारणले पनि जिल्लाको अधिवेशन हुन नसकेको कार्यवाहक महासचिवले जानकारी दिनु भयो । अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न गर्नु पर्ने भएकाले आन्तरिक तयारी नपुुगेको अर्को कारण रहेकोले बैशाखमा अधिवेशन गर्ने निर्णय गरेको छ ।
अधिवेशन समयमा गर्न नसकेको र कार्यसमितिप्रति नै प्रश्न उठ्न सक्ने भएकाले अधिवेशनको समय तालिकाको निर्णयप्रति असहमति जनाउदै कार्यसमितिका सदस्यहरु दिनेश बस्नेत, दिनेश पाठक र सुरेश उप्रेतीले नोट अफ डिसेन्ट लेखेका छन् । विधानबमोजिम समयमै अधिवेशन गर्न नसकेको भन्दै यसअघि केही उद्योगी व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय दोलखामा ध्यानाकर्षण पत्र बुझाएका थिए । संघमा ११६२ जना साधारण सदस्य आवद्ध छन् ।
प्रकाशित मिति:
शुक्रबार, माघ ६, २०७९, १७:४७:००