९ दिनसम्म महायज्ञ आयोजना गरेर अक्षयकोष स्थापना गरिने भएको छ । शैलुङ गाउँपालिका वडा नं. ६ फस्कुस्थित चर्नावतीमा २०८० साल जेठ ७ गतेदेखि महायज्ञ सञ्चालन गरेर अक्षयकोष स्थापना गर्न लागेको हो । चर्नावती त्रिवेणी विकास तथा प्रवर्दन संघद्धारा आयोजित देवी भागवत महायज्ञमा ७० लाख रकम संकलन गरिने लक्ष्य लिएको छ ।
चर्नावती त्रिवेणी विकास तथा प्रवर्दन संघमा हाल ३० लाख रकम रहेको र महायज्ञद्धारा ७० लाख रकम संकलन गर्न सकेमा अक्षयकोष स्थापना गरी सो कोषको व्याजबाट संघको नियमित कार्य सञ्चालन गर्न सजिलो हुने महायज्ञ मूलआयोजक समितिका सचिव भरत प्रसाद दुलालले जानकारी दिनुभयो । संघद्धारा चर्नावतीमा व्यवस्थित जेष्ठनागरिक सेवा केन्द्र स्थापना गरिएको छ ।
यस केन्द्रमा चर्नावती सामुदायिक वन प्रति खाली ४० रोपनी जग्गामा १६ वटा कोठा, ३ वटा हल, एउटा किचन र ५ वटा चर्पीसहितको भवन निर्माण कार्य सम्पन्न गरिएको चर्नावती त्रिवेणी विकास तथा प्रवर्दन संघका अध्यक्ष गुण बहादुर बुढाथोकीले बताउनु भयो । आगामी दिनमा यस केन्द्रमा बस्ने ज्येष्ठनागरिकहरुलाई खानपानको साथै स्वास्थ्य उपचारको लागि अक्षयकोषको ब्याजबाट व्यवस्था गरिने भएकाले महायज्ञ गर्नुपर्ने वाध्यता रहेको आयोजकले जानकारी दिए । तीनतले जेष्ठनागरिक सेवा केन्द्रको भवन निर्माणको लागि तत्कालिन पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट लगभग तीन करोडमा भवन निर्माण कार्य सम्पन्न गरिएको हो ।
मूल आयोजक समितिले देवी भागवत महायज्ञ भव्य रुपमा सम्पन्न गर्नको लागि आयोजित छलफल कार्यक्रम मूलआयोजक समितिका अध्यक्ष कलाकार मदनदास श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पर्यटन पूर्वमन्त्री आनन्द प्रसाद पोखरेल, बागमती प्रदेश सभाका सांसद भरत बहादुर केसी, प्राडा जयन्त खनाल, नेपाली कांग्रेसका तारा बहादुर कोईराला, एकीकृत समाजवादीका शिव प्रसाद भण्डारी, राप्रपाका सुन्दर प्रकाश खड्का र समाजसेवी सोभित उप्रेती लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति:
आइतबार, चैत १२, २०७९, १६:४२:००