खानेपानीको लागि वर्षौदेखि झेल्दै आएको समस्या हल भएको छ । विभिन्न संघसंस्थाको सहयोग र श्रमदानपछि धारामा पानी आउन थालेको छ । कालिञ्चोक गाउँपालिका वडा नं. ४ तल्लो चप्लेटीका २५ घरधुरीका गत पुसदेखि धारामा पानी झर्न थालेपछि ढुक्क भएका छन् । खानेपानीको लागि हुराडेक नेपाल दोलखाको साझेदारीमा लुथरन वल्र्ड फेडेरेशनको आर्थिक तथा प्राविधिक सहयोग र वडा कार्यालयको समन्वयमा निर्माण कार्य सम्पन्न भएको हो ।
खानेपानी योजना सम्पन्न गर्नको लागि हुराडेक नेपाल दोलखाले दुई लाख ७५ हजार नगद र स्थानीयले तीन लाख ५० हजार बराबरको श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष सुकदेव शिवाकोटीले बताउनु भयो । त्यस्तै पोखरे बस्तीमा पनि खानेपानीको लागि हुराडेक नेपालको साझेदारीमा ९ घरधुरीमा धारा जडान गरी खानेपानीको व्यवस्था गरिएको छ । यस बस्तीको १५ घरमध्ये ९ घरधुरीलाई पुग्ने गरी खानेपानीको व्यवस्था गरिएको छ । जसको लागि हुराडेक नेपाल दोलखाको साझेदारीमा लुथरन वल्र्ड फेडेरेशनको आर्थिक तथा प्राविधिक सहयोग र वडा कार्यालयको समन्वयमा दुई लाख ७५ हजार नगद सहयोग गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार कार्कीले बताउनु भयो । जुगेपानीबाट लिफ्टिङको व्यवस्था गरी २० हजार लिटरको पानी ट्याङ्की निर्माण गरिएको छ । अहिले पनि यस क्षेत्रमा रहेका वडाकार्यालय, विद्यालय र स्वास्थ्य चौकीलाई नियमित खानेपानीको समस्या भईरहेको समितिका अध्यक्ष कार्कीले बताउनु भयो ।
खानेपानीकै लागि एक बिहान धाउनु पर्ने बाध्यता डाँडलीटोलका बासिन्दाको पनि हटेको छ । यस क्षेत्रका १४ घरधुरीलाई पुग्ने खानेपानीको व्यवस्था हुराडेक नेपाल दोलखाको साझेदारीमा लुथरन वल्र्ड फेडेरेशनको आर्थिक तथा प्राविधिक सहयोग र वडाकार्यालयको समन्वयमा ११ हजार लिटरको ट्याङ्की निर्माण गरी खानेपानीको व्यवस्था गरिएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद शिवाकोटीले बताउनु भयो । हुराडेक नेपाल दोलखाको तीन लाख ५० हजार र सात लाख बराबरको श्रमदान गरेपछि वर्षौदेखि भोग्दै आएको खानेपानी समस्या टरेको समितिका अध्यक्ष शिवाकोटीले बताउनु भयो । यस टोलका बासिन्दाले पनि खानेपानीको लागि एक बिहान समय खर्चिदै आएका थिए ।
प्रकाशित मिति:
बिहीबार, वैशाख १४, २०८०, १६:४९:००