चर्को घाम अनि धुलोधुँवा छल्दै धन बहादुर चरिकोट सातदोबाटो चोक कुर्न थालेको महिनौ बित्न थाल्यो । एउटा बोलमा सानो माना र प्लाष्टिकले छोपेको कालो देखिने फल राखेर बस्ने गर्छन उनी । ढाका टोपी, कालो कोट र मुखमा कालो मास्क लगाएर यताउता पुर्लुक्क हेर्दै टुसुक्क बस्दै उनको दिनचर्या बित्ने गरेको छ ।
भीमेश्वर नगरपालिका वडा नं. ५ ओलीगाउँ निवासी धन बहादुर बस्नेतले बैशाखको पहिलो सातादेखि सातदोबाटोमा किम्बु बेच्न थालेका हुन् । घरमा झुप्प फल्ने र पाकेर त्यत्तिकै खेर जाने भएकाले बेच्दा दुईचार पैसा कमाई हुने र जीविकोपार्जनमा टेवा पुग्ने भएकाले दैनिकजसो उनी बेच्न चरिकोट धाउने गर्छन् । चैत्रको अन्तिम सातादेखि पाक्न सुरु गरेको किम्बु बैशाखको अन्तिमतिर फल्न छोड्छ ।
उनको अहिले दैनिक छ, सात सय रुपैयाँ कमाई हुन्छ । एक मानाको पचास रुपैयाँ पर्ने किम्बु दैनिक १४, १५ माना बिक्छ । ५, ६ वटा बोटमा लगभग चार सय पचास माना जत्ति फल्ने गर्छ । बजारमा राम्रो बिक्री देखेपछि अहिले उनले हाँगा सार्न थालेका छन् । किम्बुको बिरुवाबाट राम्रो फल नदिएपछि हाँगा सार्न थालेका हुन् । हाँगा सारेको दुई वर्षपछिनै फल दिन सुरु गर्छ । सानोमा मलजल गर्नुपर्ने तर ठूला रुख भएपछि खासै हेरचाह गर्नु नपर्ने भएकाले यसलाई उनी गरिब पाल्ने रुखको संज्ञा दिने गर्छन् । एक महिनासम्म नियमित आम्दानी दिने भएकाले बुढेसकालको सहाराको रुपमासमेत लिदै आएका छन् । यही रुख उनको लागि अहिले गतिलो आम्दानीको स्रोत बनेको छ ।
उनी काठमाडौमा बलभद्र सेकुरिटी गार्डमा जागिर खान जाँदा जावलाखेल चिडियाखानाबाट बिरुवा लिएर आएका हुन् । करिब २०÷२५ वर्षअघि ल्याएको बिरुवाले नियमित रुपमा फल दिदैं आएको छ । एकपटक रोपेपछि वर्षौसम्म फल दिने गर्छ । यसको घाँससमेत बाख्रा, गाईवस्तुले खाने गर्छ । यसको फल मानिसको पेटमा जुका पर्दा दैनिक रुपमा हप्ता दशदिन खाएपछि जुका जान्छ । गर्मीयाममा सितल दिने भएकाले पनि यसको प्रयोग गर्ने गर्छन् । कोहीकोहीले यसलाई रेशमकिराको आहाराको रुपमा प्रयोग गर्ने गर्छन ।
प्रकाशित मिति:
शुक्रबार, वैशाख २९, २०८०, ०९:०९:००