रिपोर्टिङको क्रममा हतार हतार जिरीतिर दौडियौ । बिहान ९ः३० बजेनै जिरी माविको भवन शिलान्यास गर्ने खबर थियो । जिरी पुग्न ५५ किलोमिटर कालोपत्रे सडक भएनि बिहान चरिकोटबाट हिड्दा ८ कटिसकेको थियो । यो वर्ष साल फुलेको समाचार धेरै पढेको थिए । दोलखामा चाहि कहाँ फुल्छ होला भन्ने जिज्ञासा त्यही समाचार पढ्दापढ्दै लागेको थियो । हामी ५ जना पत्रकारहरु चिरञ्जीवी मास्के, दिल बहादुर केसी, प्रभु जिरेल, श्रृजनकुमार घिमिरे, गोकर्ण भण्डारी र म बोलेरोमा हुईकिदै गर्दा तामाकोशी बजारनजिकै सडकै ढाकिने गरी सेताम्मे फुलेको साल देख्यौ । फूल र सुगन्धले मन लोभ्यायो । समय १ मिनेट पनि फुर्सद थिएन । केही साथीहरु अहिलेनै खिचौं खिचौं भन्दै थिए । त्यही १ मिनेटले उता कार्यक्रम समयमा नपुग्ने भयो । खिच्न थालेपछि १ मिनेटले के पुग्थ्यो ? फर्किदा खिच्ने शर्तमा गाडी अघि हुईकियो ।
तामाकोशी बजारमाथि बुस्तिको जंगलमा पनि ढकमक्क फुलेका देखिन्थे वनै ढाकिने, मनै लोभिने गरी । अहिलेलाई चित्ता बुझाउने बाहेक विकल्प थिएन केही । दिल बहादुर केसीले भन्दै हुनुहुन्थ्यो साल फुलेको शुभसंकेत होईन । उनको अनुसार २०७२ सालमा पनि वनै ढाकिने गरी फुलेका थिए रे । त्यही साल भूकम्प । २०७६ सालमा पनि फुलेका थिए रे । त्यही साल कोरोना । अहिले पनि भन्न सकिन्न भन्दै गुनगुनाउनु भयो ।
जिरी माविको भवन शिलान्यास ११ बजेतिरै सम्पन्न भयो । २०७२ सालको भूकम्पले भत्काएको भवन चीन सरकारको सहयोगमा सुविधासम्पन्न भवन निर्माण हुन थालेका हुन । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अशोक कुमार राईले भवन शिलान्यास गरेका हुन् । बुस्तीमा आईपुग्दा साल फुलेको नहेर्ने र फोटो नखिच्ने कुरै भएन । एकैछिन भन्दाभन्दै आधा घण्टा जत्ति त्यही अल्मलियौ । यसको बारेमा जानकारी पाउने खासै व्यक्ति नभेटा तापनि एकअर्कामा सोधीखोजी भयो । साथीहरु भन्दै थिए एकपटक सबैलाई वैस आउदा फुल्छ रे । मानव मात्र होइन, प्रकृतिलाई पनि दृश्य अदृश्य रुपमा वैश आउँछ । पशु, वन्यजन्तु कराउँछ, उफ्रिन्छ । रुख विरुवाले फुलेर अरुलाई मोहित बनाउछ रे ।
भीमेश्वर नगरपालिकाकाको वडा नं. ५ तामाकोशी बजार वैतेश्वर गाउँपालिकाको वडा नं. ६ बुस्ती क्षेत्रमा साल फुलेर सेताम्मे भएको छ । हामी बोलेरो गाडीमा थियौ । सालको फूलबाट निस्किएको सुगन्धले झनै सबैको मन तान्यो । अहिले यो क्षेत्र सालको सुगन्धले मगमगी बसाएको छ । प्राय चैत्र बैशाख महिना उराठलाग्दो दिन मानिन्छ । यस्तो मौसममा सालको फूल र सुगन्धले जोकोहीको मन लोभ्याउनु स्वभाविक हो । साल फुलेको क्षेत्र सालको जंगल रहेकाले जंगलको सुन्दरता झनै रमाईलो ।
हामी भर्खर जिरीको गुराँसपार्क घुमेर आएका थियौ । सालको फूल र सुगन्धले ती सबै बिस्र्यौ । यत्ति राम्रो सुन्दर जंगल अनि सेताम्मे सालको फूलमा सेल्फी र टिकटक बनाउन कस्ले छोड्थे रे । साथै कोही साथीहरु रिपोर्टिङमा लागे, कोही फोटो सेसनमा । यसको मीठो सुगन्धले पनि हामीलाई मोहित बनाईरहेको थियो ।
सालको बारेमा जिज्ञासा लागेर डिभिजन वन कार्यालय दोलखाका प्रमुख थीर बहादुर कार्कीसँग जानकारी लिंदा पाँच छ वर्षको अवधिमा एकपटक साल बढी फुल्ने उनी बताउछन् । साथै गर्मीमा छिटो र पहाडतिर चिसो हुने भएकाले अलि ढिलो फुल्ने गर्छ । यो वर्ष अरु वर्षभन्दा अत्याधिक फुलेको छ, उनले भने । साथै यसलाई राम्रो बीउ वर्ष (गुड सिड) वर्ष भन्छन्, उनले भने । साल विशेषगरी फागुन, चैत्र र बैशाख महिनामा फुल्ने गर्छ । दोलखा पहाडी जिल्ला भएकाले बेंसी क्षेत्र भीमेश्वर नगरपालिका, वैतेश्वर र तामाकोशी गाउँपालिकाको तल्लो भेगमा बढी पाईने गर्छ । दोलखामा पाईने साल दामर नामको हो । साल नकुहिने, किरा नलाग्ने भएकाले घरको दलिन, विद्युतको पोललगायतमा बढी प्रयोग गर्छन । एकहिसाबले साल नेपालको लागि प्राकृतिले दिएको वरदानको रुपमा लिईन्छ । यसको नर्सरी हुँदैन र नेपाल, भारत र वर्माबाहेकका अन्य देशमा पाईने साल बलियो नहुने डिभिजन प्रमुख कार्कीले बताए ।
प्रकाशित मिति:
शुक्रबार, वैशाख २९, २०८०, १५:३५:००