नेपाली कांग्रेसका नेता तथा पूर्वकानुन मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखामा ५ दिने खुला अन्तराष्ट्रिय चेस टुर्नामेन्ट आयोजना गरिएको छ । दोलखा चेस होम नेपालको आयोजना र भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा आयोजना गरिएको पाँच दिने दोलखा खुला अन्तर्राष्ट्रिय चेस टुर्नामेन्टको तयारी पूरा भएको छ ।
जेठ ५ देखि ९ गतेसम्म हुने टुर्नामेन्ट आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । दोलखा चेस होम नेपालका अध्यक्ष गोविन्द श्रेष्ठले खेलबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा खेलका लागि सम्पूर्ण तयारी तथा पुरस्कारको राशी सार्वजनिक गरिएको थियो । नेपालका १० च्याम्पियन महिला र निमन्त्रण गरिएका १० देशका खेलाडीहरूमध्ये सात देशका दुई सय जना सहभागी हुने पत्रकार सम्मेलनमा जनाएको छ । खेलमा ४७ जना उत्कृष्ट खेलाडीका लागि चार लाख ८३ हजार रुपैयाँ नगद पुरस्कार व्यवस्था गरिएको छ । प्रथम हुनेले एक लाख रुपैयाँ र ट्रफी पाउनु हुने छ ।
खेलमा भारत र बङगलादेस समेतका छ जना आरबिटर रहने छन् । यो खेलले आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास आयोजकले लिएको छ । गोविन्द श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलन भीमेश्वर नगरपालिका मेयर इश्वर नारायण मानन्धर, गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्याम सुन्दर तामाङ र पत्रकार महासंघका अध्यक्ष दीपशंकर चौलागाईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति:
सोमबार, जेठ १, २०८०, १४:२७:००